रास्वपामा थप आकर्षण बढाउन लामिछानेले ल्याए यस्ता दुई अवधारणा...!

पार्टी विस्तार र सुदृढीकरणको क्रममा रहँदा रास्वपामा जनआकर्षण बढेको बताएको छ । पार्टीका सदस्य र शुभेच्छुक बढिरहेकाले पार्टीका नेता-कार्यकर्ता सचेत, सजग र कठोर हुनुपर्ने बताइएको छ ।

‘पुराना राजनीतिक दल छोडेर हामीसँग सम्बन्ध गाँस्न आउने साथीहरूमध्ये अधिकांश असल, इमान्दार र निष्ठावान छन् । तर, केही पूर्वपार्टीकै गलत प्रवृत्ति बोकेर आएको देखिन्छ । फरक राजनीतिक संस्कार र संस्कृतिको पक्षपाती हामीलाई तीमध्ये खराबहरूले क्रमशः दबाब र प्रभावमा पनि पार्न सक्ने देखिन्छ । अर्कोतर्फ, अन्यत्र उचित स्थान नपाएर, स्वार्थ पूरा हुने नदेखेर र नयाँ दलमा तत्काल सम्भावनाको अवसर पाइन्छ भन्ने लोभले आएकाहरुले हामीलाई बदनाम गराउने सम्भावना पनि बढी नै हुन्छ । यसतर्फ पनि हामी बेलैमा सचेत हुनुपर्छ । यसो भनिरहँदा, जुनसुकै पार्टीबाट आएका असल साथीहरूको निष्ठामा ठेस नलागोस्, मानमर्दन नहोस् भन्ने कुरामा म सचेत छु । हामी ‘संगठित पार्टी र योग्य सदस्य’को अवधारणामै अगाडि बढ्नु पर्छ,’ सभापति लामिछानेले प्रस्तुत गरेको र विस्तारित बैठकले प्रतिवेदनमा भनिएको छ ।

रास्वपाले विभिन्न तह र जिम्मेवारीमा नेता छान्दा विधिले छान्ने जिकिर गरिएको छ ।

‘हामीले जान्नेलाई छान्ने मात्र भनेका छैनौं, छान्ने विधि पनि बनाएका छौं । तर, यहाँ हामीले बुझ्नुपर्छ, छान्ने भनेको माथि ल्याउन सेलेक्सन गर्ने मात्र होइन, मिल्काउन फिल्टर गर्ने पनि हो । पार्टीलाई सुदृढीकरण गर्न हामीले लिने र फाल्ने दुवै प्रक्रिया स्वार्थरहित ढंगले अबलम्बन गर्नुपर्छ । यसमा हामीले निकै काम गर्न बाँकी छ। हाम्रो पार्टीमा राम्रा मान्छेलाई आउन नदिने कोसिस भएको हुन सक्छ । त्यो अरू कसैले होइन हाम्रै पार्टी भित्रैका साथीहरूबाट भइरहेको हुन सक्छ,’ प्रतिवेदनमा भनिएको छ ।

‘प्राइमरी’ निर्वाचनको दुरूपयोग भएको वा हुने जोखिम रहेको पनि प्रतिवेदनमा औंल्याइएको छ । यसलाई पनि विधिको थप व्याख्या वा प्रबन्ध गरेर निराकरण गर्नुपर्ने बताइएको छ ।

‘हामी आफैं पनि अझै खुला हुन जरूरी छ । सामूहिक खेलमा आफ्नो टिमलाई जिताउने हो भने टिममा राम्रा खेलाडी हुनुपर्छ । त्यसैले राजनीतिमा पनि जित्ने हो भने हामीसँग राम्रा खेलाडी हुनैुपर्छ । र, राम्रा खेलाडी भित्र्याउन हामी अझै खुला हुनुपर्छ । सानो चित्त राखेर राम्रा खेलाडीको टिम बनाउन सकिन्न । र, राम्रो टिम बनाउने बहानामा फउल खेल्ने खेलाडीलाई पनि भित्र्याउन सकिन्न । हामी बेलैमा सचेत र सजग भएनौं भने पुराना राजनीतिक दलको गलत प्रवृत्ति रास्वपामा छिट्टै सर्छ । पुरानो प्रवृत्ति लिएर हामी सफल हुन सक्दैनौं,’ प्रतिवेदनमा उल्लेख छ ।

पुराना दलको प्रवृत्ति पार्टीमा निषेध गर्न र पार्टीभित्र बिनाकारण निषेध गरिएका असल मानिसलाई टिममा ल्याउन सभापति लामिछानेले लिडरसीप एकेडेमी र उम्मेदवार क्लबको अवधारणा अघि सारेका छन् ।

‘पुराना राजनीतिक दलसँग हाम्रा अनेकौं असन्तुष्टि छन् । तर, असन्तुष्टिको बहानामा राजनीतिक परिवर्तनका लागि तिनले गरेको योगदानको अवमूल्यन गर्नु हुँदैन। ती पार्टीका नेता–कार्यकर्ताले हिजो गोली खानसमेत तयार भएर परिवर्तनमा होमिएका थिए । गत महिना म रोल्पाको थवाङ पुग्दा सशस्त्र युद्धमा सहभागी भएकाहरू भन्दै थिए– ‘आजको लडाइँमा सहिद हुने पालो मेरो’ भनेर सहिद हुन हानथाप र झगडा हुन्थ्यो रे!,’ सभापति लामिछानेले प्रतिवेदनमार्फत् भनेका छन् । 

सशस्त्र विद्रोहका नेतृत्वकर्ताको नियतमा भने शंका नै शंका रहेको प्रतिवेदनमा बताइएको छ ।

‘तर, तिनको एक आदेशमा ज्यान गुमाउने सहिदको नियतमा रत्तिभर शंका छैन । ती सबैजना, यो देश बन्छ भनेर गोली थाप्न तयार भएका हुन् । परिवर्तनका लागि हाँसीहाँसी गोली थाप्न तयार हुने, वर्षौं जेल–नेल भोग्न तयार हुने तहको प्रशिक्षण एक अध्ययनको विषय हो । तीसौं वर्ष पञ्चायतविरुद्ध लड्दा उनीहरूलाई थाहा थिएन कि परिवर्तन आउँछ कि आउँदैन । तर, विद्रोह अनवरत गरिरहे । दसौं वर्ष हतियार बोकेर लुकिलुकि हिँड्दा उनीहरुलाई थाहा थिएन कि परिवर्तन आउँछ कि आउँदैन। तर, विद्रोह अनवरत गरिरहे । हामीलाई त स्पष्ट थाहाछ कि चार वर्ष पदको लोभ र उम्मेदवार आफैं हुने दौड त्याग गर्‍यौं भने ०८४ मै परिवर्तन आउँछ,’ प्रतिवेदनमा भनिएको छ ।

मात्र चार वर्ष त्यग गर्दा परिवर्तन सुनिश्चित हुने थाहा पाउँदा पनि हाम्रो पुस्ता कतै मै हुन्छु, मै लिन्छु भनिरहेको त छैन भनेर प्रतिवेदनमा प्रश्न पनि गरिएको छ ।

परिवर्तनको सुनिश्चतता हुँदाहुँदै पनि हामी असल साथी खोज्दै हिँड्नुको साटो दौडेर आफैं पद ओगट्ने दौडमा त छैनौं भनेर पार्टी पंक्तिभित्र पेचिलो प्रश्न पनि तेर्स्याइएको छ ।

‘यदि छौं भने हामी जति दौडे पनि आफ्नै गोडामा अल्झिएर लड्छौं । नेपाली जनताले एक युग कुरेर गरेको विश्वास र परिवर्तनको आशा डगमगाउन कदापि दिनु हुँदैन। यो महाअभियान जोगाउन कुनै पनि किसिमको त्याग गर्नुपरे पहिलो नम्बरमा मेरो नाम दर्ज गराउन चाहन्छु। आवश्यक परे पहिला म गर्छु पदत्याग, म गर्छु उम्मेदवारी त्याग,’ सभापति लामिछानेले प्रतिवेदनमा भनेका छन्, ‘अहिले गोली खानुपर्ने, सहिद नै हुनुपर्ने परिस्थिति छैन। तर, त्यस्तै दृढसंकल्प र इमानपूर्वक राजनीतिक अभियानमा लाग्न सक्ने गरी प्रशिक्षित चाहिँ हुन जरुरी छ। हामी पार्टी स्थापनाको उद्देश्यमा प्रष्ट छौं। हिँड्ने बाटो र पुग्ने गन्तव्य प्रष्ट छ। गर्ने काम सूचीबद्ध छन्। पार्टी संरचना र संगठन विस्तार अनि सुदृढ हुँदैछ। मात्रै हामीमा इच्छाशक्ति र धैर्यताको आवश्यकता छ।’ 

रास्वपा बलियो र परिपक्व बन्ने दिशामा रहेको बताइएको छ। 

हिजो राजनीतिक प्रशिक्षणको विषय र सन्दर्भ फरक रहेकाले राजनीतिक स्कुलिङ पनि फरकधारको रहेको प्रतिवेदनमा औंल्याएको छ। 

‘आज हामी लिडरसीप एकेडेमीबाट प्रशिक्षित गरेर नेता उत्पादन गर्ने अवस्थामा आइपुगेका छौं। लिडरसिप एकेडेमीमार्फत् नेतालाई सबै कुराको प्रशिक्षण दिइने छ। लिडरसिप एकेडेमीबाट प्रशिक्षणको प्रमाणीकरण नभएका कुनै पनि व्यक्तिले कुनै पनि तहमा उम्मेदवारी दिन पाउने छैनन्। लिडरसिप एकेडेमी मूलतः अनलर्निङ एकेडेमी हुनेछ। जहाँ पढ्ने मात्रै होइन सिक्ने र गतल सिकाइलाई बिर्सने कार्य हुनेछ। २०८२ सालको अन्तसम्म लिडरसिप एकेडेमी तयार हुनेछ,’ लिडरसिप एकेडेमीको कार्यशैलीबारे विस्तारमा भनिएको छ।

पहिलो चरणमा पालिका र वडाबाट उम्मेदवारहरुलाई छान्ने र प्रशिक्षण दिने गरी ‘उम्मेदवार क्लब’को अवधारणा ल्याएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

हालका लागि देशभरका कुनै पनि वडा र पालिकाबाट उम्मेदवार बन्न चाहने व्यक्तिले उम्मेदवार क्लबमा आवेदन दिन सक्ने पनि बताएको छ। पाँच चरणमा हुने चयन प्रक्रियामा अहिलेका वडा र पालिका संयोजकहरूले भने केवल चौथो र पाँचौं चरणमा मात्र प्रतिस्पर्धा गर्ने सुविधा पाउने बताइएको छ।

‘पार्टी बाहिरकाहरूको हकमा सबै चरण पार गर्नुपर्नेछ। यसो गर्दा योग्य मानिस कोही पनि छुट्दैनन्। पार्टीमा लागि सकेकाहरूको प्राथमिकता पनि सुनिश्चित हुन्छ। तर, प्रतिस्पर्धा चाहिँ अनिवार्य गरिने छ। उम्मेदवार क्लबको पूर्णविधि, प्रक्रिया र विवरण छिट्टै सार्वजनिक हुनेछ। प्रशिक्षण, परीक्षण र आचारणमा केन्द्रित रहेर आगामी चुनावमा यही उम्मेदवार क्लबबाट देश हाँक्ने सहयात्री छानिने छन्,’ प्रतिवेदनमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै