विपतको जोखिम रोक्ने मौलिक संस्कृति ओझेलमा

काठमाडौँ    । सुदूरपश्चिममा वर्षा ऋतुका बेला अपनाइने कतिपय चालचलन र मौलिक संस्कृतिले प्राकृतिक विपत् रोक्न सहयोग पुर्‍याउँदै आएको छ । 

साउनमा घर लिपपोत गर्न माटो खन्ने चलन छैन, दाउराका लागि रुख काटिँदैन । उज्यालोका लागि देवालयमा बत्ती बाल्ने र जाग्राम बसेको सूचना दिन गाउँमा धुनी बालेर दमाहा बजाउने चलन छ ।

साउनमा प्राणीको जीवन रक्षाका लागि मांसहार गरिँदैन । यो संस्कृति र चालचलन ओझेलमा पर्दै गएका छन् । वर्षा ऋतुमा प्राकृतिक विपत् निम्तिने कुनै पनि गतिविधि गर्न नहुने धार्मिक र सामाजिक मान्यता रहेको छ । 

बनारसीधामका पुजारी पण्डित गणेशप्रसाद पन्तले साउन १ गते घरको मूलढोकामा हरेलो झिजरीकाँडा राखेर धार्मिक महिना सुरु हुने बताछन । प्राकृतिक विपत् आउने भएकाले साउनलाई कालो महिना पनि भन्ने गरिन्छ ।

“साउनमा माटो खन्दा भूक्षय हुन्छ भन्ने मान्यता छ । रुख काटे पहिरो जान्छ र पशुपन्छी हत्या गरी मासु खानु पाप मानिन्छ,” उनले भने  “साउनमा प्रकृतिको पूजा गर्ने, सबै प्राणीको रक्षा गर्ने, मन्दिर तथा घरमा दियो बाल्ने, दमाहा बजाएर जाग्राम बसेको सूचना दिने र साश्विक भोजन गर्ने रीतिरिवाज छ ।”   

घर लिपपोत गर्ने माटो र खाना पकाउने दाउराको जोहो वर्षा ऋतुअघि नै गर्ने चलन रहेको मेलौली मन्दिर धार्मिक सेवा समितिका अध्यक्ष जगदीशसिंह नायकले बताए । साउन महिना लाग्नुअघि नै गाउँका मानिस घर लिपपोत गर्न टाढाबाट रातो माटोको जोहो गर्छन् । यहाँका अधिकांश गाउँमा बिजुली बत्ती पुगेको छैन । उज्यालोको पहँुचबाट टाढा रहेका ग्रामीण क्षेत्रमा बत्तीको निकै महत्व छ । साउन महिनाभर बत्ती बाल्ने चलनले उज्यालो दिने गरेको छ । 

साउनको अँध्यारो रातमा आगोको धुनी बालेर दमाहा बजाउने चलनले विपतको समयमा अफ्ठ्यारो परेको सूचना आदानप्रदान हुने गरेको बताइन्छ । कुनै प्रकोप र विपत्ति आइपरे बाजा बजिरहेको ठाउँतिर खबर गर्न सजिलो हुने चलन रहेको बताइन्छ । 

असारमा विकास, साउनमा पहिरो  

यहाँको सामाजिक र धार्मिक परम्परा एकातिर छ भने स्थानीय तह असारे विकासबाट मुक्त हुन सकेका छैनन् । आवको अन्तिममा ८० प्रतिशत बजेट सक्ने गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

असारमा जथाभाबी डोजरले सडक खन्दा बाढीपहिरोको जोखिम बढ्दै गएको छ । जिल्ला विपत् व्यवस्थापन समितिले तयार पारेको विपत् प्रतिकार्य योजना अनुसार बैतडीका चार वटा स्थानीय तह विपतको उच्च जोखिममा छन् । स्थानीय तहले विपत् प्रतिकार्य सञ्चालन केन्द्र स्थापना गर्न सकेका छैनन् । विपत संग जुध्न स्थानीय कला, सिप, ज्ञान र रीतिरिवाज महत्वपूर्ण पक्ष भए पनि यो विषयमा ध्यान दिन नसकेको नागरिक समाजका प्रतिनिधि कर्णदयाल सोडारीले बताए । 

आपत्कालीन केन्द्र अलपत्र 

सङ्घीय सरकारले विपत संग जुध्न स्थानीय तहलाई वार्षिक २० लाख रुपियाँ रकम उपलब्ध गराउँदै आएको छ । यद्यपि यहाँको स्थानीय तहले पालिकास्तरीय विपत् प्रतिकार्य सञ्चालन केन्द्र स्थापना गर्न सकेका छैनन् । 

असार अन्तिम साता आएको वर्षाले सेती नदीको बाढीबाट ६० परिवार प्रभावित, दशरथ चन्द नगरपालिका, पाटन नगरपालिका र पञ्चेश्वर गाउँपालिका गरी छ वटा घरमा बाढीपहिरोले क्षति गरेको छ ।    विभिन्न विपतमा  परी गएको तीन वर्षमा ४२ जनाको मृत्यु, १५० जना घाइते, ३० घर, १२ विद्यालय र एक प्रहरी चौकी गरी ४३ वटा भौतिक संरचनामा क्षति पुगेको छ । 

प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला विपत् व्यवस्थापन समितिले विपत् प्रतिकार्य योजनाको नेतृत्व गर्ने व्यवस्था रहेको छ । आपतकालीन अवस्थामा खोज, उद्धार तथा जनशक्ति परिचालन गर्न छुट्टै कोषको व्यवस्था नहुँदा विपत संग सामना गर्न कठिनाइ हुने गरेको छ । 

गोकर्ण दयाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै