परम्परागत च्याब्रुङ नृत्य प्रस्तुत गर्दै कलाकार

काठमाडाैँ । झापाको कमल गाउँपालिका ३ केर्खामा शनिबार याक्थुङ युवा मञ्चले आयोजना गरेको चासोक तङनाम साँस्कृतिक कार्यक्रममा परम्परागत च्याब्रुङ नृत्य प्रस्तुत गर्दै कलाकार । यस चाडलाई लिम्बू समुदायले न्वागी अर्थात उद्यौली पूजाका रुपमा समेत मनाउँदै आएका छन् । 

प्रकृतिपूजक लिम्बु समुदायमा अनादिकालदेखि अन्नप्रति सम्मान व्यक्त गर्ने परम्परा छ । प्राण बचाइदिने अन्नलाई एक प्रकारले माङ् (देवता)  मान्ने प्रचलन छ । पाकेको बाली घरमा थान थापेर पुज्नुका साथै प्रकृति देवीलाई समेत चढाइन्छ । यो पुज्ने क्रम धान पाक्ने सिजन कात्तिकदेखि भण्डारण गर्ने मंसिर पूर्णिमासम्मै चल्छ । यो संस्कृतिलाई लिम्बु समुदायमा चासोक तङ्नाम भनिन्छ ।

मङ्सिर पूर्णिमाका दिन सामूहिकले विशेष तरिकाले चासोक तङ्नाम मनाइन्छ । चासोक तङ्नाम पैयुँ फुल्नुका साथै माछा, चरा दक्षिणतिर लागेको उधौली याम (दक्षिणायण­) को न्वागी पर्व हो । लिम्बू भाषामा ‘चासोक’ को अर्थ नयाँ पाकेको शुद्ध अन्न पवित्र मनले पुजेर तागेरानिङ्वाभुमाङ (प्रकृतिदेवी) लाई अर्पण गर्नुहुन्छ । तागेरानिङ्वाभुमाङ भनेर जल, जमिन, वायु, अग्नि वा सूर्यलाई चिनिन्छ ।

‘तङ्नाम’ ले पर्वरचाड अर्थात् उत्सव जनाउँछ । लिम्बु मुन्धुम (शास्त्र) अनुसार आदिम लिम्बु पुर्खा सावा येत्हाङहरूले काँचो कन्दमूल खानुपर्ने बाध्यताबाट उन्मुक्ति पाउन तपस्या गरे । यसको सुनुवाइ गर्दै तागेरानिङ्वाभुमाङले मानिसलाई आगोसहित पारामा (कोदो), क्यावो (फापर), फामु (कागुनी) लगायत बीज दिए । यो बीज सावा येत्हाङका चेली सिबेरा याक्थुङमा (लिम्बु महिला) ले संरक्षण गरेर कृषि युगको सुरुआत गरिन । आगोमा अन्न पकाई खान मानिस अभ्यस्त भए । यसपछि ‘तागरेनिङ्वाभुमाङ’ लाई सधन्यवाद आफूले नखाई चोखो अन्न अर्पण गर्न थालियो ।

धान र कोदो पाकेपछि लिम्बु जातिले आ–आफ्नो घरमा फेदाङ्मा (लिम्बु पुरेत) बोलाई चासोक गरिन्छ । यस क्रममा फेदाङ्माले आउँदो दिनमा पनि धेरै अन्न उत्पादन गरिदिन भन्दै ‘तागेरानिङ्वाभुमाङ’ लाई पुकार्दै सेवा व्यक्त गर्छन् । चासोकका बेला कलात्मकताले बुनेर नयाँ धानका बालाको चिटिक्कको पुतली बनाई घरको शोभा बढाउन ढोका छेउ झुन्ड्याउने चलन पनि छ । सामूहिकले मनाइने ‘चासोक तङ्नाम’ विभिन्न धार्किक, ऐतिहासिक, सांस्कृतिक स्थलमा आयोजना गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै