सदानन्द मण्डल, माननीय मन्त्री
वन पर्यटन तथा वतावरण मन्त्रालय, कोशी प्रदेश
कोशी प्रदेश सरकारले विसं २०८२ लाई भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेसँगै कोशी प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारमा तीव्रता आएको छ । संसारकै शीर सगरमाथादेखि नेपालकै सबैभन्दा होचो स्थान केचनाकवल कोशी प्रदेशमै रहेका छन् । विश्वका सर्वोच्च दश शिखरमध्ये पाँच शिखर मात्रै होइन संसारकै लोपोन्मुख अर्ना र रेडपाण्डाजस्ता जनावर पनि कोशी प्रदेशमै पाइन्छन् । यसर्थ पनि आन्तरिक र बाह्य दुवै पर्यटकका लागि कोशी प्रदेशको भ्रमण अवलोकनले फरक किसिमको आनन्द दिने गर्छ । पाथिभरा, हलेसी र बराहक्षेत्रजस्ता हिन्दू सभ्यताका पवित्र तीर्थस्थल मात्रै होइन साल्पा पोखरी र सिलिचुङजस्ता किराती सभ्यताका पवित्र तीर्थस्थल पनि कोशी प्रदेशमै छन् ।
कोशी प्रदेशका तिनै सांस्कृतिक र प्राकृतिक विविधताका बारेमा कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डलसँग मुकामका लागि गरिएको अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ ।
कोशी प्रदेश सरकारले मनाउन लागेको भ्रमण वर्षमा कति पर्यटक भित्र्याउन सकिन्छ भन्ने मन्त्रालयको आँकलन छ ?
हामी कोशी प्रदेश पर्यटन वर्ष २०८२ मनाउन लागिरहेका छौँ । हामीले पर्यटन वर्ष घोषणा गरिसकेका छौँ । स्थल मार्गका पर्यटकहरुलाई बढीभन्दा बढी कोशी प्रदेशमा भित्र्याऔँ भन्ने हाम्रो लक्ष्य हो । सङ्ख्यामा यकिनको साथ यति भित्र्याउँछैँ भन्नुभन्दा पनि हामी हाम्रो कोशी प्रदेशमा भएका पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने काममा लागिरहेका छौँ भन्नु उचित हेला । यस मानेमा कोशी प्रदेश पर्यटन वर्षमा १० लाखभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य लिएका छौँ ।

कोशी प्रदेशमा विभिन्न किसिमका जातीय संस्कृतिहरू छन् यी संस्कृतिलाई पर्यटनसँग जोडेर अगाडि बढाउन हालसम्म मन्त्रालयले कस्तो भूमिका खेलिरहेको छ ?
हाम्रो देश बहुभाषा, बहुधर्म, बहुसंस्कृतिले भरिएको देश हो । विविधताले भरिएको हाम्रो मुलुक संस्कृतिको इन्द्रेणी हो । त्यस हिसाबले विविध धर्म संस्कृतिलाई समर्थन गर्नका लागि अहिले हामी लागिपरेका छौँ । एउटा राजनीतिकर्मीको हिसाबले वा संस्कृतिकर्मीको हिसाबले हामी यस्ता मौलिक र नेपाली माटोसँग प्रत्यक्ष सम्बन्ध राख्ने धर्म र संस्कृतिको संरक्षणमा सधैँ जिम्मेवार ढंगले लागिरहेका छौँ । जस्तैस् किरात धर्म संसारकै टिपिकल धर्मको रुपमा पर्छ । किरात धर्मका धर्मगुरु महागुरु फाल्गुनन्दको शालिक बनाइरहेका छौँ । त्यसपछि उहाँहरूको पहिचानका कुराहरू छन्, त्यसको लागि पनि हामी लागिरहेका छौँ । यो धर्म धेरै टिकिराख्नुपर्छ भन्नाका खातिर यसको संरक्षणको लागि हामीले कामकाज अघि बढाएका छौँ ।
किरात धर्मलाई एउटा उदाहरणका रुपमा मात्रै लिइएको हो । कोशी प्रदेशमा झापदेखि सुनसरीसम्ममा र ताप्लेजुङदेखि सोलुखुम्बुसम्ममा धेरै रैथाने संस्कृति र जातजाति छन् । हामी ती सबै जातजातिका संस्कृति र मौलिक पहिचानको रक्षामा कटिबद्ध भएर लागि परेका छौँ । संविधानमै अधिकार भएका धर्म र संस्कृतिलाई जगेर्ना गर्न र तिनका पहिचान कायम गर्न हामीले मनाउन लागिरहेको पर्यटन वर्ष २०८२ मा सबै धर्मलाई समेटेर जातीय पहिचान झल्किने सन्देशमुलक धेरै कार्यक्रमहरु राखेका छौँ ।
संसारका पाँचवटा प्रमुख अग्ला हिमालहरू कोशी प्रदेशमै छन् । अनि कोशीटप्पु वन्यजन्तुजस्ता आरक्षण जहाँ संसारकै लोपोन्मुख अर्ना, वन कुकुर र साइबेरियाबाट उडेर आउने चराहरूको बासस्थान छ । यी दुईवटा कुरालाई ब्रान्डिङ गरेर धेरै पर्यटक भित्र्याउन सकिन्छ भन्ने लाग्दैन ?
हामीले यसपटक स्थापित पर्यटकीय गन्तव्यभन्दा पनि प्रवद्र्धन गर्नुपर्ने गन्तव्यको प्रचार गरौँ भन्ने सोचेर कोशी प्रदेशको धार्मिक पर्यटनलाई बढावा दिनेगरी गतिविधि गर्नेबारे सोचिरहेका छौँ । यसको अर्थ तिनलाई चटक्कै छोड्ने भन्ने पनि होइन । संसारकै शिर सगरमाथा हामीसँगै छ( अन्य हिमशिखरहरु पनि छन् । तिनलाई विश्वसमुदायमा चिनाउने काम त भइहाल्छ । तर, यसपटक हामीले सबैभन्दा बढी धार्मिक पर्यटनमा जोड दिएका छौँ ।
तपाईंले भनेको जस्तै संसारकै लोपोन्मुख जनावर अर्ना हामीसँगै छ । यो कोशीटप्पु वन्यजन्तु आरक्षणमा भएको त्यो प्रजातिको अर्ना संसारमा कुनै पनि देशमा छैन । यसलाई हेर्नका लागि मानिसहरु आउँछन् । त्यस्तै यहाँ वन कुकुरहरु छन् । अर्को ४६५ भन्दा धेरै प्रजातिका चरा हाम्रै कोशीटप्पुमा पाइन्छ्न् । यसलाई हेर्नको लागि पनि पर्यटकहरू बाहिरबाट आउने गरेका छन् । त्यसलाई संरक्षण प्रचार र प्रवर्द्धन गर्नका लागि कार्यक्रमहरू अगाडि बढाएका छौँ ।
पर्यटनको प्रमुख मेरुदण्ड भनेको पूर्वाधार हो । पूर्वाधार निर्माणमा मन्त्रालयले के कस्ता कामहरू समन्वय गरिरहेको छ ?
पर्यटन प्रर्वधन गर्नका लागि मुख्यतयास् गन्तव्यसम्म पुग्ने गोरेटो (सडक) नै महत्त्वपूर्ण विषय हो । हामीले यसका लागि पर्यटनमा पूर्वाधार विकास गर्न, बाटोघाटो निर्माण गर्नका लागि भर्खरै केही दिनअघि स्विस सरकारसँग पर्यटनमा आधारित पदमार्गको विकास गर्न भनेर पर्यटनमा आधारित पदमार्ग विकास परियेजनाको कार्यक्रममा सम्झौता गर्यौँ । उक्त संस्थाले चारवटा पदमार्गहरु निर्माण गर्नेछ र त्यसपछि ट्रेलहरु पनि निर्माण गर्नेछ । यहाँ अग्ला अग्ला हिमाल हेर्नका लागि ट्रेकिङको माध्यमबाट पर्यटकहरु जान्छन् । जहाँ हामीले व्यवस्थित सडक पुर्याउन सकेका छैनौँ त्यहाँ ट्रेलहरु बनाएर साहसिक पर्यटन प्रवर्धन गर्न प्रदेश सरकारसँगै यससँग सम्बन्धित सबै निकायहरु लागीरहेका छौँ ।
पर्यटन वर्ष मनाउँदा सुरुमा ठूलै चर्चा हुन्छ । तर केही महिनापछि पर्यटनका कार्यक्रमहरू छोड्दै आएका छन् । जस्तो कोशी प्रदेश सरकारले वर्षभरि पर्यटकीय गतिविधि गरिरहन कस्तो वार्षिक क्यालेन्डर तयार गरेको छ ?
हामीले भर्खरै मात्र कोशी प्रदेश पर्यटन वर्ष २०८० घोषणा गरेका छौँ । पर्यटन वर्ष घोषणा गरिसकेपछि यसलाई निरन्तरता दिन पनि केही काम हामीले गरेका छौँ । जस्तो ५०० भन्दा बढी व्यक्तिको प्रतिनिधित्वसहित माननीय मुख्यमन्त्रीज्यूको संयोजकत्वमा मूल आयोजक समिति निर्माण भएको छ । निर्देशन समिति मेरो आफ्नै संयोजकत्वमा बनेको छ । हामीले अहिलेदेखि नै आफ्नो समितिका बैठकहरु विभिन्न ठाउँमा गरिरहेका छौँ । जुन तपाईंले वार्षिक क्यालेन्डरको कुरा गर्नुभयो । त्यो सबै कार्यक्रमको क्यालेण्डर निकाल्न हामीले बैठकबाट पास गरिसकेका छौँ ।
हाम्रो लक्ष्य नै पर्यटनबाट राष्ट्रिय पुँजी निर्माण गर्ने र कोशी प्रदेशका पर्यटकीय स्थललाई घुम्नै पर्ने गन्तब्यको रुपमा स्थापित गर्नु हो । संसारको सबैभन्दा ठूलो हिमशिखर सगरमाथा कोशी प्रदेशमा नै छ । त्यसपछिका साना हिमशिखर हामीसँगै छ । धार्मिक स्थल चारधाममध्यको एक धाम बराहक्षेत्र पनि यहीँ छ । त्यस्तै रामधुनी, हलेसी महादेव, पाथिभरा यहीँ छन् । यसको प्रचारप्रसार गर्न पनि विभिन्न कार्यक्रमहरु अघि बढाएका छौँ ।
यी ठाउँहरुको प्रचारप्रसारको लागि, धार्मिक पर्यटकहरूलाई बढावा दिनको लागि यिनै ठाउँहरूमा हामीले पर्यटन वर्ष २०८० को माध्यमबाट अधिक भन्दा अधिक पर्यटन ल्याउने प्रयासमा छौँ । र यसको लागि पर्यटकहरुले सामना गर्नुपर्ने कठिनाइहरू पहिचान गरेर अघि बढ्ने निर्णय गरिसकेका छौँ ।

कोशी प्रदेश सरकारले मनाउन लागेको यो पर्यटन वर्ष २०८२ स्थानीय सरकारले आफ्नो हो भन्ने महसुस गरेका छन् कि छैनन् ?
कोशी प्रदेशका सङ्घका सम्पूर्ण माननीयहरू प्रदेशभित्रका १ सय ३७ स्थानीय सरकारका प्रमुख हाम्रो यस कार्यक्रमको आयोजक समितिका सदस्य हुनुहुन्छ । त्यसपछि जति पनि सरोकारवाला हुनुहुन्छ सबैलाई सदस्य बनाएर सबैजनाको प्रतिनिधित्व हुने गरी अपनत्वको भावले यो कार्यक्रम हामी मनाउन लागिरहेका छौँ । पर्यटनका माध्यमबाट हुने फाइदा पुग्ने भनेको स्थानीय सरकारलाई नै हो । त्यसैले उहाँहरूसँग समन्वय नहुने भन्ने कुरै हुँदैन । सबै १ सया ३७ स्थानीय सरकारका प्रतिनिधिले यसलाई हाम्रै कार्यक्रम हो भनेर सहर्ष स्वीकार गरेको अवस्था छ ।
प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मा छनोट गरेका कोशी प्रदेशका प्रमुख प्रमुख गन्तव्यहरू के के हुन् ?
८२ का ८२ गन्तव्य भनेर हामीले नारा नै ल्याएका छौं यो प्रस्तावित हो । हामीले कार्यक्रम घोषणा गरिसकेपछि सरकारवालाहरूसँग समन्वय गरेर धेरै सम्पदा स्थलहरू लुकेर बसेको छ त्यसलाई हामीले पहिचान गर्न सकेका छैनौं ती सबैलाई पनि कति हुन्छ हामी समावेश गर्छौँ ।
नेपालकै होचो भुभाग झापाको केचनाकवलदेखि संसारकै अग्लो हिमाल सगरमाथासमेत यसै प्रदेशमा स्थित छन् । विश्वका ८ हजार मिटरभन्दा अग्ला सर्वोच्च शिखरमा १४ वटामध्ये ८ वटा नेपालमा छन् र तीमध्ये ५ वटा शिखर यसै प्रदेशमा छन् । यी हिम श्रृङ्खलाहरूको पर्वतारोहण पर्यटन र साहसिक पर्यटन विश्वमा प्रसिद्ध छ ।

विश्व सम्पदा सूचीमा सूचिकृत सगरमाथा राष्ट्रिय निकुञ्ज, सिमसार संरक्षणका लागि रामसार सूचीमा सूचिकृत गोक्यो ताल, माइपोखरी र कोशी टप्पु वन्यजन्तु आरक्ष लगायत जैविक विविधताले भरिपूर्ण मकालु वरूण राष्ट्रिय निकुञ्ज, कञ्चनजङ्गा संरक्षण क्षेत्र यहीँ छन् । लालिगुराँसको राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजलेको लालिगुराँस क्षेत्र यहीँ छ । धार्मिक रूपमा प्रसिद्ध तीर्थस्थलहरू वराह क्षेत्र, हलेसी महादेव, पाथिभरा मन्दिर, गुरू फाल्गुनन्द जन्मस्थान, विराट दरवार, किचकबध हाम्रै प्रदेशका सम्पत्ति हुन् । कन्याम, श्रीअन्तुजस्ता प्रसिद्ध गन्तव्यहरू यसै प्रदेशमा पर्दछन् । यहाँ कोच र किराँत सभ्यताका अनुपम विशिष्टता उपलब्ध छन् । सप्तकोशी नदीको वृहत जलाधार क्षेत्रले सिङ्गो कोशी सभ्यताको प्रतिनिधित्व गर्छ । हामी यिनै गन्तव्य लगायत लुकेर बसेका सुन्दर गन्तव्य र सम्पदालाई पहिचान गर्दै क्रमशः प्राथमिकीकरण गर्दै प्रवर्द्धन गर्दै जानेछौँ ।
मुकाम, कोशी प्रदेश भ्रमण वर्ष २०८२ विशेषाङ्कबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेको विषयमा सरकारले आवश्यक कदम चाल्ने
- हिरा रनपालले ल्याए ‘गुदरी काम्लो’ (भिडियो सहित)
- मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग
- शिक्षा कि श्रम ? आज विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै
- प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
- नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली, आरजु, शाक्य र राई तानिने
- काठमाडौं उपत्यकामा आज पनि वर्षा हुने
- विश्वकप २०२६ का खेलको अवैध प्रसारण रोक्न ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध



ट्रेन्डिङ
खबरमुकाम





