सरोकारवालासँग समन्वय गरेर लुकेका सम्पदाको प्रचारमा लागेका छौँ- सदानन्द मण्डल, माननीय मन्त्री

सदानन्द मण्डल, माननीय मन्त्री
वन पर्यटन तथा वतावरण मन्त्रालय, कोशी प्रदेश

कोशी प्रदेश सरकारले विसं २०८२ लाई भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेसँगै कोशी प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारमा तीव्रता आएको छ । संसारकै शीर सगरमाथादेखि नेपालकै सबैभन्दा होचो स्थान केचनाकवल कोशी प्रदेशमै रहेका छन् । विश्वका सर्वोच्च दश शिखरमध्ये पाँच शिखर मात्रै होइन संसारकै लोपोन्मुख अर्ना र रेडपाण्डाजस्ता जनावर पनि कोशी प्रदेशमै पाइन्छन् । यसर्थ पनि आन्तरिक र बाह्य दुवै पर्यटकका लागि कोशी प्रदेशको भ्रमण अवलोकनले फरक किसिमको आनन्द दिने गर्छ । पाथिभरा, हलेसी र बराहक्षेत्रजस्ता हिन्दू सभ्यताका पवित्र तीर्थस्थल मात्रै होइन साल्पा पोखरी र सिलिचुङजस्ता किराती सभ्यताका पवित्र तीर्थस्थल पनि कोशी प्रदेशमै छन् ।

कोशी प्रदेशका तिनै सांस्कृतिक र प्राकृतिक विविधताका बारेमा कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डलसँग मुकामका लागि गरिएको अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ ।

कोशी प्रदेश सरकारले मनाउन लागेको भ्रमण वर्षमा कति पर्यटक भित्र्याउन सकिन्छ भन्ने मन्त्रालयको आँकलन छ ?

हामी कोशी प्रदेश पर्यटन वर्ष २०८२ मनाउन लागिरहेका छौँ । हामीले पर्यटन वर्ष घोषणा गरिसकेका  छौँ । स्थल मार्गका पर्यटकहरुलाई बढीभन्दा बढी कोशी प्रदेशमा भित्र्याऔँ भन्ने हाम्रो लक्ष्य हो । सङ्ख्यामा यकिनको साथ यति भित्र्याउँछैँ भन्नुभन्दा पनि हामी हाम्रो कोशी प्रदेशमा भएका पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने काममा लागिरहेका छौँ भन्नु उचित हेला । यस मानेमा कोशी प्रदेश पर्यटन वर्षमा १० लाखभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य लिएका छौँ । 

कोशी प्रदेशमा विभिन्न किसिमका जातीय संस्कृतिहरू छन् यी संस्कृतिलाई पर्यटनसँग जोडेर अगाडि बढाउन हालसम्म मन्त्रालयले कस्तो भूमिका खेलिरहेको छ ?

हाम्रो देश बहुभाषा, बहुधर्म, बहुसंस्कृतिले भरिएको देश हो । विविधताले भरिएको हाम्रो मुलुक संस्कृतिको इन्द्रेणी हो । त्यस हिसाबले विविध धर्म संस्कृतिलाई समर्थन गर्नका लागि अहिले हामी लागिपरेका छौँ । एउटा राजनीतिकर्मीको हिसाबले वा संस्कृतिकर्मीको हिसाबले हामी यस्ता मौलिक र नेपाली माटोसँग प्रत्यक्ष सम्बन्ध राख्ने धर्म र संस्कृतिको संरक्षणमा सधैँ जिम्मेवार ढंगले लागिरहेका छौँ । जस्तैस् किरात धर्म संसारकै टिपिकल धर्मको रुपमा पर्छ । किरात धर्मका धर्मगुरु महागुरु फाल्गुनन्दको शालिक बनाइरहेका छौँ । त्यसपछि उहाँहरूको पहिचानका कुराहरू छन्, त्यसको लागि पनि हामी लागिरहेका छौँ । यो धर्म धेरै टिकिराख्नुपर्छ भन्नाका खातिर यसको संरक्षणको लागि हामीले कामकाज अघि बढाएका छौँ । 

किरात धर्मलाई एउटा उदाहरणका रुपमा मात्रै लिइएको हो । कोशी प्रदेशमा झापदेखि सुनसरीसम्ममा र ताप्लेजुङदेखि सोलुखुम्बुसम्ममा धेरै रैथाने संस्कृति र जातजाति छन् । हामी ती सबै जातजातिका संस्कृति र मौलिक पहिचानको रक्षामा कटिबद्ध भएर लागि परेका छौँ । संविधानमै अधिकार भएका धर्म र संस्कृतिलाई जगेर्ना गर्न र तिनका पहिचान कायम गर्न हामीले मनाउन लागिरहेको पर्यटन वर्ष २०८२ मा सबै धर्मलाई समेटेर जातीय पहिचान झल्किने सन्देशमुलक धेरै कार्यक्रमहरु राखेका छौँ । 
 

संसारका पाँचवटा प्रमुख अग्ला हिमालहरू कोशी प्रदेशमै छन् । अनि कोशीटप्पु वन्यजन्तुजस्ता आरक्षण जहाँ संसारकै लोपोन्मुख अर्ना, वन कुकुर र साइबेरियाबाट उडेर आउने चराहरूको बासस्थान छ । यी दुईवटा कुरालाई ब्रान्डिङ गरेर धेरै पर्यटक भित्र्याउन सकिन्छ भन्ने लाग्दैन ?

हामीले यसपटक स्थापित पर्यटकीय गन्तव्यभन्दा पनि प्रवद्र्धन गर्नुपर्ने गन्तव्यको प्रचार गरौँ भन्ने सोचेर कोशी प्रदेशको धार्मिक पर्यटनलाई बढावा दिनेगरी गतिविधि गर्नेबारे सोचिरहेका छौँ । यसको अर्थ तिनलाई चटक्कै छोड्ने भन्ने पनि होइन । संसारकै शिर सगरमाथा हामीसँगै छ( अन्य हिमशिखरहरु पनि छन् । तिनलाई विश्वसमुदायमा चिनाउने काम त भइहाल्छ । तर, यसपटक हामीले सबैभन्दा बढी धार्मिक पर्यटनमा जोड दिएका छौँ । 

तपाईंले भनेको जस्तै संसारकै लोपोन्मुख जनावर अर्ना हामीसँगै छ । यो कोशीटप्पु वन्यजन्तु आरक्षणमा भएको त्यो प्रजातिको अर्ना संसारमा  कुनै पनि देशमा छैन । यसलाई हेर्नका लागि मानिसहरु आउँछन् । त्यस्तै यहाँ वन कुकुरहरु छन् । अर्को ४६५ भन्दा धेरै प्रजातिका चरा हाम्रै कोशीटप्पुमा पाइन्छ्न् । यसलाई हेर्नको लागि पनि पर्यटकहरू बाहिरबाट आउने गरेका छन् । त्यसलाई संरक्षण प्रचार र प्रवर्द्धन गर्नका लागि कार्यक्रमहरू अगाडि बढाएका छौँ ।

पर्यटनको प्रमुख मेरुदण्ड भनेको पूर्वाधार हो  । पूर्वाधार निर्माणमा मन्त्रालयले के कस्ता कामहरू समन्वय गरिरहेको छ ?

पर्यटन प्रर्वधन गर्नका लागि मुख्यतयास् गन्तव्यसम्म पुग्ने गोरेटो (सडक) नै महत्त्वपूर्ण विषय हो । हामीले यसका लागि पर्यटनमा पूर्वाधार विकास गर्न, बाटोघाटो निर्माण गर्नका लागि भर्खरै केही दिनअघि स्विस सरकारसँग पर्यटनमा आधारित पदमार्गको विकास गर्न भनेर पर्यटनमा आधारित पदमार्ग विकास परियेजनाको कार्यक्रममा सम्झौता गर्यौँ । उक्त संस्थाले चारवटा पदमार्गहरु निर्माण गर्नेछ र त्यसपछि ट्रेलहरु पनि निर्माण गर्नेछ । यहाँ अग्ला अग्ला हिमाल हेर्नका लागि ट्रेकिङको माध्यमबाट पर्यटकहरु जान्छन् । जहाँ हामीले व्यवस्थित सडक पुर्याउन सकेका छैनौँ त्यहाँ ट्रेलहरु बनाएर साहसिक पर्यटन प्रवर्धन गर्न प्रदेश सरकारसँगै यससँग सम्बन्धित सबै निकायहरु लागीरहेका छौँ ।

पर्यटन वर्ष मनाउँदा सुरुमा ठूलै चर्चा हुन्छ । तर केही महिनापछि पर्यटनका कार्यक्रमहरू छोड्दै आएका छन् । जस्तो कोशी प्रदेश सरकारले वर्षभरि पर्यटकीय गतिविधि गरिरहन कस्तो वार्षिक क्यालेन्डर तयार गरेको छ ?

हामीले भर्खरै मात्र कोशी प्रदेश पर्यटन वर्ष २०८० घोषणा गरेका छौँ । पर्यटन वर्ष घोषणा गरिसकेपछि यसलाई निरन्तरता दिन पनि केही काम हामीले गरेका छौँ । जस्तो ५०० भन्दा बढी व्यक्तिको प्रतिनिधित्वसहित माननीय मुख्यमन्त्रीज्यूको संयोजकत्वमा मूल आयोजक समिति निर्माण भएको छ ।  निर्देशन समिति मेरो आफ्नै संयोजकत्वमा बनेको छ । हामीले अहिलेदेखि नै आफ्नो समितिका बैठकहरु विभिन्न ठाउँमा गरिरहेका छौँ । जुन तपाईंले वार्षिक क्यालेन्डरको कुरा गर्नुभयो । त्यो सबै कार्यक्रमको क्यालेण्डर निकाल्न हामीले बैठकबाट पास गरिसकेका छौँ । 

हाम्रो लक्ष्य नै पर्यटनबाट राष्ट्रिय पुँजी निर्माण गर्ने र कोशी प्रदेशका पर्यटकीय स्थललाई घुम्नै पर्ने गन्तब्यको रुपमा स्थापित गर्नु हो । संसारको सबैभन्दा ठूलो हिमशिखर सगरमाथा कोशी प्रदेशमा नै छ । त्यसपछिका साना हिमशिखर हामीसँगै छ । धार्मिक स्थल चारधाममध्यको एक धाम बराहक्षेत्र पनि यहीँ छ । त्यस्तै रामधुनी, हलेसी महादेव, पाथिभरा यहीँ छन् । यसको प्रचारप्रसार गर्न पनि विभिन्न कार्यक्रमहरु अघि बढाएका छौँ ।

यी ठाउँहरुको प्रचारप्रसारको लागि, धार्मिक पर्यटकहरूलाई बढावा दिनको लागि यिनै ठाउँहरूमा हामीले पर्यटन वर्ष २०८० को माध्यमबाट अधिक भन्दा अधिक पर्यटन ल्याउने प्रयासमा छौँ । र यसको लागि पर्यटकहरुले सामना गर्नुपर्ने  कठिनाइहरू पहिचान गरेर अघि बढ्ने निर्णय गरिसकेका छौँ ।

कोशी प्रदेश सरकारले मनाउन लागेको यो पर्यटन वर्ष २०८२ स्थानीय सरकारले आफ्नो हो भन्ने महसुस गरेका छन् कि छैनन् ?

कोशी प्रदेशका सङ्घका सम्पूर्ण माननीयहरू प्रदेशभित्रका १ सय ३७ स्थानीय सरकारका प्रमुख हाम्रो यस कार्यक्रमको आयोजक समितिका सदस्य हुनुहुन्छ । त्यसपछि जति पनि सरोकारवाला हुनुहुन्छ सबैलाई सदस्य बनाएर सबैजनाको प्रतिनिधित्व हुने गरी अपनत्वको भावले यो कार्यक्रम हामी मनाउन लागिरहेका छौँ । पर्यटनका माध्यमबाट हुने फाइदा पुग्ने भनेको स्थानीय सरकारलाई नै हो । त्यसैले उहाँहरूसँग समन्वय नहुने भन्ने कुरै हुँदैन । सबै १ सया ३७ स्थानीय सरकारका प्रतिनिधिले यसलाई हाम्रै कार्यक्रम हो भनेर सहर्ष स्वीकार गरेको अवस्था छ ।

प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मा छनोट गरेका कोशी प्रदेशका प्रमुख प्रमुख गन्तव्यहरू के के हुन् ?

८२ का ८२ गन्तव्य भनेर हामीले नारा नै ल्याएका छौं यो प्रस्तावित हो । हामीले कार्यक्रम घोषणा गरिसकेपछि सरकारवालाहरूसँग समन्वय गरेर धेरै सम्पदा स्थलहरू लुकेर बसेको छ त्यसलाई हामीले पहिचान गर्न सकेका छैनौं ती सबैलाई पनि कति हुन्छ हामी समावेश गर्छौँ ।

नेपालकै होचो भुभाग झापाको केचनाकवलदेखि संसारकै अग्लो हिमाल सगरमाथासमेत यसै प्रदेशमा स्थित छन् । विश्वका ८ हजार मिटरभन्दा अग्ला सर्वोच्च शिखरमा १४ वटामध्ये ८ वटा नेपालमा छन् र तीमध्ये ५ वटा शिखर यसै प्रदेशमा छन् । यी हिम श्रृङ्खलाहरूको पर्वतारोहण पर्यटन र साहसिक पर्यटन विश्वमा प्रसिद्ध छ ।

विश्व सम्पदा सूचीमा सूचिकृत सगरमाथा राष्ट्रिय निकुञ्ज, सिमसार संरक्षणका लागि रामसार सूचीमा सूचिकृत गोक्यो ताल, माइपोखरी र कोशी टप्पु वन्यजन्तु आरक्ष लगायत जैविक विविधताले भरिपूर्ण मकालु वरूण राष्ट्रिय निकुञ्ज, कञ्चनजङ्गा संरक्षण क्षेत्र यहीँ छन् । लालिगुराँसको राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजलेको लालिगुराँस क्षेत्र यहीँ छ । धार्मिक रूपमा प्रसिद्ध तीर्थस्थलहरू वराह क्षेत्र, हलेसी महादेव, पाथिभरा मन्दिर, गुरू फाल्गुनन्द जन्मस्थान, विराट दरवार, किचकबध हाम्रै प्रदेशका सम्पत्ति हुन् । कन्याम, श्रीअन्तुजस्ता प्रसिद्ध गन्तव्यहरू यसै प्रदेशमा पर्दछन् । यहाँ कोच र किराँत सभ्यताका अनुपम विशिष्टता उपलब्ध छन् । सप्तकोशी नदीको वृहत जलाधार क्षेत्रले सिङ्गो कोशी सभ्यताको प्रतिनिधित्व गर्छ । हामी यिनै गन्तव्य लगायत लुकेर बसेका सुन्दर गन्तव्य र सम्पदालाई पहिचान गर्दै क्रमशः प्राथमिकीकरण गर्दै प्रवर्द्धन गर्दै जानेछौँ ।

मुकाम, कोशी प्रदेश भ्रमण वर्ष २०८२ विशेषाङ्कबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै