पार्मोसिरिको सौन्दर्य सिर्जनाले वनजङ्गलले पृथ्वी हरियाली हराभरा भयो । विभिन्न किसिमका फलपूmलले पृथ्वी सुगन्धमय त भयो । तर घाँसपात, फलफूल खाइदिने कुनै पनि जीवजन्तु नभएपछि त्यसै कुहिएर गए । त्यसै त्यसै भुइँमा झरेर खेर गयो । झारपात, लहरा, रुख विरुवाले पृथ्वीलाई ढाक्दै गयो ।
जलथल सबै हरियो नै हरियो भयो । यस्तो अवस्था देखेर इँगिले पुनः तायारिप्चि–सायारिप्चिलाई प्राणीको सृष्टि गर्न अह्राउनुभयो । सर्वव्यापी इँगिको आज्ञापालन गर्दै तायारिप्चि–सायारिप्चिले पार्मोसिरिको सहयोगमा ब्रह्माण्डका विविध तत्वहरुको समायोजन गरेर वीर्य र रजको सृष्टि गर्नुभयो । यही वीर्य र रज धारण गर्ने शरीरका रुपमा बिभिन्न जलचर थलचर तथा उभयचर जीवहरुको सृजना गर्नुभयो । तीमध्ये सबैभन्दा पहिला जलमा बस्ने प्राणीको सृष्टि गर्नुभयो । यसरी पृथ्वीमा साना मसिना जीवहरुको सृष्टि गर्दै ठूला ठूला अजङ्ग शरीर भएका साकाहारी जीवहरुको सृष्टि गर्नुभयो । सबै जीवहरुलाई सन्तान उत्पादन गर्न एक निश्चित आयुको निर्धारण गर्नुभयो ।
जीवहरुले बोट बिरुवा खाएर बोटविरुवा नियन्त्रणमा ल्याए पनि जीवजन्तु पशुपंक्षीहरुको संख्या भने तीव्ररुपमा बढ्न थाल्यो । यो त झन अनिष्ट हुने भयो भनि पार्मोसिरिलाई जीवहरुको संख्यामा सन्तुलन ल्याउन फेरि परभक्षी मांसाहारी जीवहरुको सृष्टि गर्न लगाउनुभयो ।
यसरी विभिन्न खाले जीवहरुको सृष्टि गरेपछि पार्मोसिरि बढो हर्षविभोर भई आफुभित्र भएको स्त्रीरुप र पुरुषरुपलाई छुटाएर छुट्टा छुट्टै विचरण गर्ने पुरुष रुप पारुहोपो र स्त्रीरुप सुम्निमामा मान्छेको सृष्टि गर्नुभयो । त्यही पारुसुम्निकै सन्तान जुमुहाङ सिमाङगढ हुँदा बेलकतारी पुगे । उसैका दश सन्तानमध्येका खिँचिहोपो हल्काबु फलेङ्बाट उँभो लागेर ङाकुवरिपरि छारिँदै लिकु, खिम्कु, मोल्कुमा आवाद गरी बसे । तिनै खिँचिहोपोको सन्तान नै कालान्तरमा कोइँच अर्थात् सुनुवार भएर चिनिए ।
अहिले पनि आफूले आफैँलाई स्वपहिचान गराउँदा एकल मानव प्रतिपादित धर्म दर्शनका अनुयायी नरहेका हिन्दू वर्णाश्रम व्यवस्था अन्तर्गत नपर्ने नेपालको राजनीति र राज्य सञ्चालनको प्राचीन इतिहासमा किरात वंशको प्रथम राजा यलम्बरदेखि अन्तिम राजा खिगुसम्म गरी ३२ पुस्ता राज्य सञ्चालन गरेका र हाल ऐतिहासिक किरात भूमि रोल्वालिङ हिमश्रृंखलाबाट दक्षिण–पूर्व भएर बग्ने लिखु, तामाकोशी, सुनकोशी र शाखा नदीहरु खिम्ती, मोलोङ नदी वरिपरिको भूभागमा परापूर्वकादेखि खनीखोस्री, खोरिया फाँडेर बस्ने पहिलो बासिन्दा, किरात पूर्खा तथा प्रकृतिपूजक, मुक्दुम दर्शनमा आधारित आफ्नो छुट्टै विशिष्ट संस्कृति, भाषा, कला, साहित्य, परम्परागत संस्था, न्याय प्रणाली, जीवनपद्धति र लिखित अलिखित इतिहास भएका आदिवासी जनजाति भुमिपुत्र, कतै मुखिया, कतै शिकारी, कतै सुनुवार, सुनवार, सुन्वार भनी नेपाल सरकार, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन– २०५८ को अनुसूचि १ मा उल्लेखित सुनुवार नै आदिवासी जनजाति कोइँच हौँ भन्ने गर्दछन् ।
साबिक १२ किपट १६ थुम र १० किपट २४ थुमका आदिवासी कोइँच होपोहरुको सामुहिक नेतृत्वमा सञ्चालन हुने आफ्नो परम्परागत संस्था ‘कोइँच चुपलु’ अन्तर्गत विभिन्न सामाजिक तथा साँस्कृतिक अनुष्ठान सम्पन्न गर्ने सुनुवारहरु आफुलाई कोइँच भनेर चिनाउन गर्व गर्दछन् । सिमान्तृत अल्पसंख्यक कोइँचको जनसंख्या लगभग ७६ हजार छ । वर्तमान राज्यसंरचनाको दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर जिल्ला आदिवासी कोइँचहरुको पुख्र्यौली भूमि तथा भूअभिनत्व हो ।
ससुरालीको धरापमा परेर मरेका काःतिच

चुप्लु (ओखलढुंगा) जिल्लाको खिँचिदेम्बा काःत काःतिचहरुको पुख्र्यौली भूमि हो । कोइँच किपटमा वर्षमा दुईपटक शाँदार हुने गाउँ काःत मात्रै हो । दिबर्कुबाट गौरशंकर लगायत लिखु नदीको उद्घम नुम्बुर हिमालदेखि सुनकोशी दोभानको महाभारतसमेत मज्जाले देखिन्छ । काःत र काःतिचको सन्दर्भमा एक रोचक मिथक यस्तो छः धेरै पहिला शिकारी युगको कुरा हो । लिकु (लिखुकोशी) वरिपरि नाम चलेको तेप नामक नाअसो थियो । तेप नाअसोको चासिमासि मुक्दुम विद्या लगायत शिकारमा निपुण थिए । ती दक्ष शिकारीका सन्तानहरुमध्येका एक जना निम्लो तेप्पाचले एर्म बाकुका दुर्बिचको छोरी, ख्योम्पातिचको दिदी युमालाई विवाह ग¥यो । शिकार खेल्दा आफ्नो जहान बालबच्चा पनि सँगै लिएर हिड्ने गरिन्थ्यो । बस्नको लागि स्थाई घर हुन्थेन । ओढार, गुफामा बस्ने गरिन्थ्यो । तर निम्लो भने धेरै चलाख थियो । उसले खेतीपातीको अभ्यास पनि गर्दै गयो । शिकार गर्ने क्रममा निम्लो डढेलोमा परेर म¥यो । घाइते बनेकी युमा पनि पछि त्यसै मरेपछि उनीहरुको एक्लो छोरा जङ्गलमा एक्लै भयो । वनको कन्दमूल अनि फलफूल खाएर बाँच्यो ।
पेलु भन्ने गाउँमा क्याःबहरु बस्थे । उनीहरुले लिखुकोशीको तीर चोकत खोलाको दोभान हुँदै गोठडाँडा, माप्ला, दिबार्कु, सिङ्गाम हुँदै थोलेदेम्बा, झेँके, लुतिडाँडा हुँदै साब्ला डाँडाबाट तल साब्लाखोलाको दोभानसम्म आफ्नो किपटमा दुवाली पासो थाप्थे । उता गोठ डाँडा चोकात खोलाको दोभान, माप्ला क्षेत्रको शिकार भने तेप्पाचको छोराले निकालेर खाना थाल्यो । जहिल्यै पनि माप्ला वरिपरिको दुवालीमा परेको शिकार हराउने गरेको हुँदा ढुकेर चियो गर्न थाले क्याबहरुले । समात्न खोज्यो एक क्षणमा हराउने एकदम अनौठो स्वभावको भएको हुँदा जति गर्दा पनि समात्न सकेनछन् । अन्तमा गाउँले सबै मिलेर चारैतिरबाट घेरा हालेर ऊ बस्ने ओढार तुप्नुपुखिमा समातेछन् । र, कसको छोरा ? कहाँ बस्ने ? को ? हो भनेर सोध्दा केही बोल्न सकेनछ । खाली काः काः अर्थात् एक्लै एक्लै मात्र भन्न सकेछ । मानिसको सम्पर्कभन्दा टाढा एक्लै जङ्गलमा बसेको हुँदा उसले मानिसले बोल्ने लवज र बोली सिकेको थिएन । यसैले क्याःबहरुले उसलाई तप्नु पुअखिबाट समातेर आफ्नै घर पेलुमा लगे । अनि काः एक्लो रहेछस् तँ काःतिच भइस भनेर आफ्नै छोरीचेलीसँग विवाह गरी दिए । सानैदेखि वनमा खेलीहुर्की गरेको काःतिच बनमै शिकार गर्नमा रमाउँथ्यो । ऊ घरमा काम नभएको बेला बिहानै सुनकारी नाम्जामा खाजा र पुँपुमा जाँड बोकेर वाअशि पिदार गरेर शिकार गर्न निस्किन्थ्यो । तर ऊ किक अ्वाकु भन्ने ठाउँमा ससुरालीले थापेको दर्जन पासोमा परेर मरेछ । क्याःबहरुले अब काःतिच ज्वाइँलाई मारियो ठूलो पाप लाग्ने भयो भनेर पेलु ग्यादिमको जाग्गा तथा आफ्नो शिकार खेल्ने सबै पाङ्सार किपट छाडेर लिखु पश्चिम प्लेत्ति तरेर बसे । तिनै काःतिचको सन्तान बढेर धेरै भए अनि काःतिचहरुको उद्गम थलोलाई काःत भनियो । अहिले पनि लाशा र दोरपाको बीचमा रहेको किक बाकुको पानी काःतिचहरुले खाँदैनन् ।
मल्ल राजाबाट मारिएको विनिच राजाको गाउँ बुज

रामेछाप जिल्लाको उमाकुण्ड वडा नं. ७ बुज कोइँचको बाह्रगाउँमध्ये एक हो । बुजका राजा कलो बिनिच मुक्दुममा धुरन्धर थिए । उनी मुक्दुमका बलले आफनो मृत्युबाट पनि सुरक्षित रहने सामथ्र्य राख्थे । उनको यो गोप्य रहस्य थाहा पाएर उपत्यकाका मल्ल राजाका सैनिकहरुले राति सुतेको अवस्थामा आक्रमण गरे । त्यो रात कलोहोपोले आफ्नो प्राण आफ्नै टुपीभित्र लुकाएर सुतेका रहेछन् । पालैपालो जत्ति काटदा पनि कलोहोपो नमरेको देखेर उसका हरेक अंगहरु टुक्राएर छुटाउन थालेछन् । यसरी अङ्गभङ्ग भएका कलो पीडाले असह्य भएर उनी आफँैले मेरो टुपी काट अनिमात्र मर्छु भनेर आफैँले आफूलाई मार्न लगाए । उनको अंगभङ्ग शरीरलाई भने हुपिङको ख्लिसी भीरबाट खसाले । पतिको विभत्स मृत्युका कारण रानी कलोहोमा पनि सोही भीरबाट हामफालेर आत्महत्या गरिन् । आज पनि लिकु क्षेत्रका को“इचहरुले हुपिन कलो होमाहोपो भनेर देउताको रुपमा मान्छन् ।
धर्मग्रन्थले बचाएको ख्योँपातिच

रामेछाप जिल्लाको उमाकुण्ड ३ चाराम ख्योँःपातिचहरुको उद्गम थलो हो । धेरै पहिला दालकेप नामक टुहुरो दुर्विच थियो । दिदी युमाले काःतिच र युल्सिले दिगार्चसँग विवाह गरेर गएपछि एक्लै बनेको थियो । वनको कन्दमूल खान्थ्यो । अनि आफूले सक्ने शिकार गरेर जीवन गुजार्दै थियो । उसको शिकार क्षेत्र पितुपालमा खालिङ राईहरुको क्षेत्र जोडिएको थियो । त्यहाँ उनीहरु दुवाली थापेर डाँफे, मुनाल, थार, मृगको शिकार गर्थे । कहिलेकाहीँ दालकेपले ती खालिङहरुले थापेको पाशोको शिकार निकालेर खान्थ्यो । पछि पछि बानी परेपछि सधैँ जसो पासोमा परेको शिकार झिक्दै खाना थाल्यो । सधैँ शिकार हराएको हुँदा खालिङहरुले कसले आफूले थापेको पासोबाट शिकार चोर्दोरहेछ भनी ढुकेर बसे । दलकेप खालिङहरुको शिकार क्षेत्र पस्यो र धमाधम शिकारहरु पासोबाट निकाल्न थाल्यो । यो देखी खालिङहरुले दलकेपलाई घेरेर समाते र आफ्नो घर लगे अनि गोठालो बनाए ।
दलकेप ठूलो भएपछि बँधुवा गोठालोबाट छुट्कारा पाउन खालिङको घरबाट भाग्यो । सबै खालिङ युवाहरु दलकेपलाई लघार्दै अगाडि पितुपालातिर बढे । सोलुखुम्बुको गोली आएर दुर्विच पोइँबको शरणमा पुग्यो । दलकेपको गोहो पच्छाउँदै दुर्विच पोइँबोको घरमा खालिङहरु पुगे । एक जना खालिङले डेलि कामिरहेको देख्यो । र, अगाडि डेलीतिर बढ्यो । झन् दलकेप डराएर काम्न थाल्यो । यो देखी दुर्विच पोइँबोले खालिङहरुलाई डर देखायो र डेलीको रक्षा गर्न अगाडि बढ्यो, “ल, तिमीहरुलाई सबै कुनाकाप्चा खोज्न हेर्न दिएँ । तिमीहरुमा राम्रो भावना रहेनछ । कुभावना र कुदृष्टिका रहेछौ । यहाँ मेरो धर्म पुस्तक मुक्दुमले थाहा पायो । तुरुन्त निस्केर जाओ । मेरो धर्मग्रन्थ उडेर जाना लाग्यो । अब तिमीहरुलाई ठूलो पाप लाग्ने भयो । र घरमा पनि अनिष्ठ हुन्छ ।”
त्यसपछि खालिङ आफ्नै गाउँ फर्के । दालकेपलाई दुर्विच पोइँबोले डेलिमा भएको किङ्गुर धतुर दिएर फोल गर्नु फोलले नै तिम्रो रक्षा हुन्छ भनी लिखु पश्चिम कुँबुकाँस्थलीमा पठाए । तिनै दलकेपका सन्तान नै अहिलेका ख्योम्पातिच हुन् भनिन्छ । उनीहरुले वर्षमा एक पटक किङ्गुरधतुर पूजा गरेर फोल पिदार गर्दछन् । कोइँच गाउँमा भएको एक मात्र गढी एकाङ गढी यहीँ पर्दछ ।
धनसम्पत्ति दिने पोकली र दुःख बिमार हटाउने लल्दु, तिसुप, लिपु झरना

ओखलढुंगाको लिखु गाउँपालिका ९ वाच्पुमा नेपालकै दोस्रो अग्लो झरना छ । यस्ता झरनाहरु खिजीदेम्बाको काःतमा पनि छन् । लिपु छाँगा, लाल्दु छाँगा, तिसुप छाँगा हेर्नलायकका छाँगा वा झरनाहरु हुन् । तामाकोशी किनारको रज गाउँमा जोजोर नामक कोइँच दम्पति बस्थे । ती दम्पतिले केटाकेटीहरुलाई पटक्कै मन पराउँदैनथे । आफ्नो नजिक केटाकेटीहरु आउन समेत दिँदैनथे । कुनै केटाकेटी आफ्नो नाजिक आए भने कुटेर रुवाउँथे । यसैले सबै गाउँलेहरुले ती दम्पतिलाई मन पराउँदैनथे । यसरी नै दिनहरु बित्तै जाँदा एक दिन जोजोरकी श्रीमती गर्भवती भई । नौ महिना पुग्यो । जोजोेरकी श्रीमतीले बच्चा पाउनुको सट्टा अण्डा पाइन् । अण्डा पारेकोले लाजले त्यस अण्डालाई घ्याम्पोमा राखे । घ्याम्पोमा राखेको अण्डाबाट दुईवटा टाउको भएको सर्प कोरलिन् । त्यस सर्पलाई पनि गाउँबाट दुःध मागी मागी पाले । त्यो सर्पलाई लुकाउँदा लुकाउँदा आखिर गाउँलेले थाहा पाए । पछि सर्प जन्माउने बूढाबूढीको रुपमा सबै गाउँलेले थाहा पाए । बच्चाहरु त्यो सर्प हेर्न जाँदा सर्पले टोक्न खोज्थ्यो । अनि सबै गाउँलेले त्यस सर्पलाई धपाउन भनेर अन्तत तामाकोशी नजिकै ठूलो सिमलको रुखमा त्यस सर्पलाई लगेर राखे । त्यो सर्प त्यही सिमलको रुखमा विलिन भयो । केही समय अन्तरालमाा त्यो गाउँमा माझीहरु आए अनि ती माझीहरुले सिमलको रुख काटेर डुँगा बनाए तर सबै माझीहरु बिरामी भए । आउँले पखला लाग्यो । अनि पोइँबो ग्याँमि ल्याए । त्यसपछि मात्र त्यो त सेद अर्थात् सर्प देवता लागेको पत्ता लाग्यो र सेद पिदार गरे । त्यही सेदलाई पछि कालि जोजोर सेद, पोकलि सेद, लिपु धेरै सेदका नाममा पूजा र प्रार्थना गर्ने चलन रही आयो ।
असफल प्रेम सफल बनाउने शाँदार पिदार

कोइँच गाउँ विशेषगरी लिखुनदी वरिपरि रामेछाप, सोलु र ओखलढुंगामा वैशाख पुर्णिमामा धुमधामसँग शाँदार पिदार हुन्छ । उहिले उहिले किरातीहरु अहिलेको जस्तो कोइँच, राई, लिम्बू, याक्खा, हायु, सुरेल, जिरेल भनेर नछुट्टिएका बेलाकै कुरा हो । मान्छेको सृष्टि भए पनि धेरै समयसम्म खेतिपाती गर्ने चलन थिएन । शुरुमा किरातीहरू शिकारी जीवन निर्वाह गर्ने गर्थे । आपूm र आफ्नो समुदायलाई लालनपालन गर्ने प्रकृतिको रूपमा जङ्गलको काठपातलाई देवता शिमाङहोपो मान्दथे । माङ्ग मुइलिहरुको पूजा आरधनाका क्रममा इँगि, आनिलासिरि सारिङमुइलि, पार्मोसिरि, पारुहोपो, सुम्निमामा, सारिङमुइलि, दुमामुइलि, जात्नामुइलि खुँपो मुइलि तथा कालपिपको ढोल झ्याम्टा बजाएर नाच्दै आफ्नो पुर्खाको विधिवत पूजा आराधना गर्दै शाँदार पिदार गर्दा सबै देवदेवता, मुइलि, शाक–कार होपो होमाले खुशी भएर सात तले होमाचिरि कलश उपहार दिएका थिए रे । किरातीहरुलाई सुनको ढुकुर होमाचिरि, सहको देविका रुपमा वरदान स्वरुप प्राप्त भएपछि त्यो सात तले होमाचिरि कलशलाई पुर्खाको चिनो मानेर सँगसँगै बोकेर हिँड्ने गर्थे रे ।
उनै होमाचिरिले नै किरातीहरुलाई पार्मोसिरिले सृष्टि गर्नुभएको अन्नका बीजहरु आफनो गाँडमा बोकेर ल्याउँदै मौसम अनुसारको खेती लगाउन सिकाएछ । शुरुमा होमाचिरिले सावाखारि, नारखारि, जारखारि अन्न ल्यायो । त्यसपछि बुर र बाशेर ल्याएको बिऊ ल्याइदियो । यसरी सिकार खेलेर निर्वाह गर्ने किरातहरु यस पश्चात सिकारका अलवा अन्नको बाली लगाई अन्नबाट निर्मित भोजनबाट जीवन निर्वाह गर्न थालेछन् । पछि ठूलो परिवार भई भाइ भाइमा बेमेल भयो । अंशबण्डको कुरा चल्यो । अनि समृद्धिको प्रतिक होमाचिरि कसले राख्ने भनी झगडा भई खोसाखोस भएछ । यसरी झगडा हुँदा होमाचिरि जमिनमा भासिएर अलप भएछ । यिनै होमाचिरिको सम्झनामा अन्नबाली सप्रोस्, अनिकाल हटोस् भन्ने कामनामा बैशाख पूर्णिमामा उभौली सालिवा शाँदार र मङ्सिर पूर्णिमामा उधौली रापावा शाँदार मनाउने परम्परा चलेको हो ।
शाँदार पिदार गर्दा भाले र पोथी ढोल भेट गराइन्छ । यसरी भाले र पोथी ढोल भेट्दा मनमा जे चिताएको छ पुर्खा सम्झेर अक्षेताले हान्दा दुबै ढोललाई लाग्दा असफल भएको प्रेम सफल हुने, जागिर नपाएकोले जागिर पाउने, बढुवा नभएकोले बढुवा हुने जनविश्वास छ । यसैले भालेपोथी ढोल भेट्दा ठूलो भिड हुन्छ ।
सुस्वास्थ्यको लागि पूजा गरिने फाल–शि, मेसेल्मि नु केरो मेसेल्मि

ओखलढुंगाको खिँचि जैदुपबाट लल्लाममा फाल्सिहोपो भस्मे फाँड्दा आफ्नो छोरी मेसेल्मि तथा उनका मितिनी केरो मेसेल्मि ठूलो रुखमुनि बिसाएर बस्दा चट्याङले हानेर मरे । फाल्शि गाउँका साताङ्गे मिलानसार थिए । उनीहरुको मृत्य अस्वभाविक भएको हुँदा बाहिर नै मन्दिर बनाइराख्ने टुँगो लाग्यो । समय बित्दै गयो । पछि पोइँबो ग्याँमिको जीउमा मेसेल्मि देवी बनेर उत्रिइन् । पछि मेसेल्मीलाई देवीका रुपमा उतारे पश्चात मात्र उनको मृत्युबारे सबैलाई थाहा भएकोले मेसेल्मीको मनेतो गर्दा मेसेल्मी सँगसँगै उनका पिता फल्सिहोपोलाई समेत भागभोग सारेर मनेतो गरिने चलन यथावत् कायम रह्यो । फलशि होपो बिनिच राजा कालोकै पछिल्लो पिँडीका सन्तति मानिन्छन् । यसैले खिँचिमा मेसेल्मि पूजा गरेर जात्रा लगाउने चलन यथावत छ ।
स्वर्ग जाने बाटो दाह्रे गौंडा (सोइँद गिर्द फ्लाचा)

कोइँच सँस्कारमा दारेगौँडा मुक्ति वा निर्वाण वा मोक्षा प्राप्त गर्ने बाटको मुख्य द्वार हो । यो त्रिवेणी स्थान काःतको ठेले खोला र प्लेत्तीको चण्डी खोला र लिखु बीच पर्ने सल्ले वनको पुछारमा पर्छ । यसलाई महादेव मन्दिरको रुपमा पनि पुजा गरिन्छ । कोइँचहरु दारे गौ“डा भन्छन् ।
गाउँको संरक्षक चाइँ र चाइँथान देम्बा, पितुपाला, ताँबे

उहिले मान्छे र देवताबीच बिहेवारी हुन्थ्यो रे । देउताको छोरी बिहे गरेका एक जना प्राचीन चाँइ (सिकारी) ले पित्री पूजा गर्ने विचारले ससुरासँगै पित्रीलाई चढाउने चिरोका लागि सिकार खेल्न निस्केछ । दिनभरि सिकारको खोजीमा भौतारिँदा पनि कुनै सिकार भेटेनछ । दिनभरि भौँतारिएर थाकेको ऊ घाम अस्ताउने पख एकछिन बिसाउन बसेछ । ऊ बसेकै छेउको एक पोथ्रामा एउटा नम्दि चिअबि (चराहरुमा सबैभन्दा सानु चरा फिस्टा) उक्त पोथ्राको हाँगा हाँगामा उफ्रँदै मस्त नाचिरहेको देखेछ । यसरी नाचिरहेको नम्दि (फिस्टा) ले उसैलाई खिज्याउँदै खुच्चिङ खुच्चिङ भनिरहेको सिकारीलाई भान भएछ । अत मनमनै रिसाउँदै उसले सिकार नपाएको झोँकमा त्यही नम्दिको सिकार गरेछ । अनि ससुरासँग बिलो बाँडेर घर फर्केछ । घर फर्किंदा सिकार नदेखेपछि उसको स्वास्नीले खै सिकार भन्दा उसको स्वास्नीलाई त्यही नम्दिको फिला झटारो हानेछ । तर त्यो फिला लागेर स्वास्नीको फिला नै भाँचिएपछि देउताले उसको छोरी फिर्ता लगेछ । यसरी फिर्ता लगेपछि आफ्नो स्वास्नी फर्केर आउने बाटो कुरेर बसे । चाइँले पितुपाला, देम्बा, ताँबे फ्ुचुरोमा बसेर आफ्नो स्वास्नीको हालखबर सुनाउने वा आफ्नो स्वास्नीको बारेमा थाहा पाउनेलाई मात्र कोइँच गाउँ पस्न दिन थाले । यसैले कोइँच गाउँ सुरक्षित हुन थाल्यो । र, चाइँलाई सबै कोइँचहरुले वर्षमा दुईपटक भव्यरुपमा पूजाआराधना गरी धुमधामसँग चाइँ पिदार मनाउँछन् । सोलुमा पितुपाला, ओखलढुंगामा थोलेदेम्बा, लहरेमेहेले, दुब्ले, चुली र रामेछापमा ताँबे, भुर्जुङ, सतालुबतालु चाइँ थानहरु छन् ।
(कोइँचबु काःतिच उत्तमको यो आलेख मुकामको यलम्बर स्मृति विशेषाङ्कमा प्रकाशित छ ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेको विषयमा सरकारले आवश्यक कदम चाल्ने
- हिरा रनपालले ल्याए ‘गुदरी काम्लो’ (भिडियो सहित)
- मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग
- शिक्षा कि श्रम ? आज विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै
- प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
- नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली, आरजु, शाक्य र राई तानिने
- काठमाडौं उपत्यकामा आज पनि वर्षा हुने
- विश्वकप २०२६ का खेलको अवैध प्रसारण रोक्न ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध



ट्रेन्डिङ
कोइँचबु काःतिच (उत्तम)





