लमजुङको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरको नजिकै, मादी नदीको किनारमा रहेको एक ठूलो ढुङ्गा समयको मौन साक्षीझैँ उभिएको छ। मन्दिरबाट करिब ५०० मिटर दूरीमा रहेको यस ढुङ्गालाई लिएर एक पुरानो किम्वदन्ती प्रचलित छ की यो ढुङ्गा सात दिने सुत्केरी महिलाले गाडेकी थिइन्।
यो ढुङ्गा केवल किम्वदन्तीको विषय मात्र होइन, इतिहास र धर्मको गहिरो दस्तावेज पनि हो। विसं १८२९ अर्थात् (शाके १६९४) मा राजा वीरनारायणका धर्मपत्नीहरू शालधरा, सकलान र कुमारीले इशानेश्वर महादेवको नाममा शिवरात्रिको अवसर पारेर फकिर, साधु–सन्तहरूको सेवा र पूजाका लागि १४० मुरी खेत गुठीस्वरूप अन्न सङ्कल्प गरेका थिए। यही धार्मिक दानको ऐतिहासिक अभिलेख सो ढुङ्गामा संस्कृत भाषामा कुँदिएको छ।
ढुङ्गामा लेखिएको अभिलेख अनुसार ‘श्री शाके सोह्रसय चौरानब्बे‘’ बाट सुरु हुने लेखमा दान, धर्म र भक्ति भावको कथा अंकित छ, जसलाई कालु मौखिके नामक व्यक्तिले कुँदेको जनाइएको छ। यो ढुङ्गा न केवल धार्मिक आस्थाको केन्द्र हो, तर मध्यकालीन समाजको गुठी व्यवस्था, दान परम्परा र राजकीय धर्म नीतिको पनि जिवन्त प्रमाण हो।
दुर्भाग्यवश, गुठीको जग्गा अहिले मोहीको नाममा दर्ता भइसकेको छ भने ढुङ्गाको अवस्थासमेत उपेक्षित छ। केही दशकअघिसम्म मादी नदी किनारमा यही स्थानमा फागुपूर्णिमाको मेलामा छेलो हान्ने प्रतियोगिता हुने गर्थ्यो। कास्की, तनहुँ र लमजुङका सर्वसाधारणको घुइँचो लाग्थ्यो। हरिबोधिनी एकादशीमा फूल तार्ने परम्परा पनि चल्थ्यो, तर ती सबै परम्परा विस्तारै हराउँदै गएका छन्।
स्थानीय बासिन्दा नरबहादुर गुरुङ भन्छन्, “इतिहास बोकेको यो ढुङ्गाको संरक्षणका लागि कसैले खास चासो देखाएको छैन।” यद्यपि, इशानेश्वर महादेव क्षेत्र विकास समितिले मन्दिरसँग जोडिएको यस ऐतिहासिक ढुङ्गालाई संरक्षण गरी पर्यटकीय गन्तव्य बनाउने योजना अघि सारेको छ। समितिका अध्यक्ष गुणराज घिमिरेका अनुसार हाल भक्तजनहरूलाई ढुङ्गाको अभिलेखबारे जानकारी गराउँदै यसको संरक्षणको तयारी भइरहेको छ। त्यसैगरी, वडा अध्यक्ष हीरा बहादुर गुरुङ र नगर प्रमुख रमेशकुमार पाण्डेले पनि ढुङ्गाको ऐतिहासिक र सांस्कृतिक मूल्य भएकाले यसको जगेर्नाका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन्।
धार्मिक आस्था, ऐतिहासिक साक्ष्य र सामाजिक परम्पराको संगम बनेको यो मौन ढुङ्गा अब जागरुकताको प्रतीक्षामा छ—कसैले त्यसलाई पढोस्, बुझोस्, र बचाओस्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेको विषयमा सरकारले आवश्यक कदम चाल्ने
- हिरा रनपालले ल्याए ‘गुदरी काम्लो’ (भिडियो सहित)
- मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग
- शिक्षा कि श्रम ? आज विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै
- प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
- नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली, आरजु, शाक्य र राई तानिने
- काठमाडौं उपत्यकामा आज पनि वर्षा हुने
- विश्वकप २०२६ का खेलको अवैध प्रसारण रोक्न ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध



ट्रेन्डिङ
खबरमुकाम





